कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काठमाडाैं | भदौ ५, २०७९
नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९ः३० बजे निधन भएको हो ।
गिरीको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिने र बिहान ११।३० बजेदेखि दिउँसो २ः०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसपछि उहाँको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उहाँलाई गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।
नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक नेता गिरी विसं २०२१ पछि राजनीतिमा सक्रिय हुनुभएको हो । हाल प्रतिनिधिसभा सदस्य रहनुभएका उहाँ विसं २०२४ मा वनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित हुनुभएको थियो ।
उहाँ विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भई संविधान निर्माणको जिम्मेवारीमा संलग्न हुनुभएको थियो । यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन हुनुभएको थियो । नेता गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा–१ बाट निर्वाचित हुनुभएको हो । विसं २००४ मा सिरहाको वस्तीपुरमा पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्रका रूपमा उहाँको जन्मभएको थियो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

